म्युजिकल सर्ट फिल्म ‘तिमी–एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ । आर.बी. पुनको अवधारणामा तयार भएको गीतमा लोकप्रिय गायक प्रताप दास को स्वर रहेको छ । गीतका शब्द प्रताप शाहीले लेखेका हुन् भने संगीत सुवास पुन मगरले तयार गरेका छन् । गीतको भिडियोमा सामाजिक सञ्जालबाट सुरु हुने प्रेम, पारिवारिक हैसियतको अन्तर तथा गाउँ–सहरबीचको परिवेशलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
सामाजिक तथा पारिवारिक कथावस्तुलाई अर्थपूर्ण संवाद र भावनात्मक दृश्यमार्फत भिडियोमा जीवन्त बनाइएको निर्माण पक्षले जनाएको छ । उत्तम हुमागाईँको छायांकन रहेको भिडियोको निर्देशन तथा सम्पादन हरि हुमागाईँले गरेका हुन् । भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाही, राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्लेको अभिनय रहेको छ ।
नर्वेमा बसोबास गर्ने नेपाली युवाहरूको संस्था धड्कन नेपाल ग्रुप ले निर्माण गरेको यस गीतले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि बोकेको छ । गीत सार्वजनिक गर्नुअघि निर्माण टिम भक्तपुरस्थित सहारा केयर सेन्टर पुगेर आश्रित ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा निर्देशक हरि हुमागाईँ तथा कलाकार आशीर्वाद क्षेत्री र चेतना काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
धड्कन नेपाल ग्रुपका संस्थापक संगीतकार सुवास पुन मगर र गीतकार प्रताप शाही हुन् । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय सुवास पुन मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका अध्यक्षसमेत रहेका छन् । यस प्रोजेक्टका व्यवस्थापक दिपेन गौतम हुन् भने कार्यकारी निर्माता भगवान भुजेल रहेका छन् । भिडियोको रंग संयोजन प्रवीण मानन्धरले गरेका हुन् ।
धड्कन नेपाल ग्रुपको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘नौ डाँडा काटेर’ले कला र सामाजिक सेवाको सुन्दर संयोजन प्रस्तुत गरेको निर्माण टिमको विश्वास छ ।




