नेपाली फिल्म ‘लालीबजार’ गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनरत छ । केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको फिल्मले घरेलु बक्सअफिसमा २ लाखभन्दा बढी दर्शकको साथ पाइसकेको निर्माण पक्षले जनाएको छ । आमा र छोरीको भावनात्मक कथामा आधारित फिल्मले बादी समुदायको संघर्ष, शिक्षा र अस्तित्वको सवाललाई केन्द्रमा राखेको छ ।
शासकको शोषणलाई परम्परा मान्दै आएको एउटा समुदायले शिक्षाको उज्यालोसँगै आफ्नो अधिकार र पहिचानका लागि गर्ने संघर्षलाई फिल्मले मार्मिक ढंगले प्रस्तुत गरेको भन्दै बादी समुदायका अभियन्ताहरूले समेत फिल्मको खुलेर प्रशंसा गरिरहेका छन् ।दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको ‘लालीबजार’ यतिबेला कानुनी विवादका कारण पनि चर्चामा छ । फिल्मको प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालत र उच्च अदालत पाटनमा रिट दायर गरिएको छ ।
एउटै समयमा दुवै अदालतमा पेशी परेपछि निर्माण टिमका सदस्यहरू अदालत धाउन बाध्य भएका छन् । आज पनि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता तथा निर्माता रवीन्द्रसिंह बानियाँ, कार्यकारी निर्माता प्रदीप भट्टराईलगायत टिमका सदस्य अदालत उपस्थित भएका छन् । निर्माण पक्षका अनुसार दर्शकसँग प्रत्यक्ष भेटघाट र हल भ्रमणमा व्यस्त हुनुपर्ने समयमा अदालतको प्रक्रिया सामना गर्नुपरेको छ ।
निर्माण पक्षले केन्द्रीय चलचित्र जाँच समितिबाट विधिवत् पास भइसकेको फिल्मले पटक–पटक अदालतमा आफ्नो वैधानिकता प्रमाणित गर्नुपर्ने अवस्था दुःखद भएको जनाएको छ । यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।




