गायक सुवर्ण कुमारले आफ्नो स्वरमा रहेको नयाँ गीत ‘माया बनेर…’ सार्वजनिक गरेका छन् । भिडियो क्राफ्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा उनले एआई प्रविधिको प्रयोग गर्दै नयाँ शैली प्रस्तुत गरेका हुन् । गीतमा पुरुष स्वर, शब्द तथा संगीत स्वयं सुवर्ण कुमारकै रहेको छ भने नारी स्वर एआईमार्फत समावेश गरिएको छ ।
यो आफ्नो सांगीतिक यात्रामा एआईसँग गरिएको नयाँ प्रयोग भएको गायक सुवर्णले बताएका छन् । प्रेम, विश्वास र शंकाबीचको भावनात्मक द्वन्द्वलाई प्रस्तुत गरिएको गीतमा वियोगान्त अनुभूति भए पनि भिडियोमा प्रेमिल जोडीको पुनर्मिलन देखाइएको छ । गीतको भिडियोमा कलाकार शिव राउत, सञ्जिता केसी, अशोक राना मगर, रश्मी सुन्दास, ईश्वर थापा र चन्द्र मगरको अभिनय रहेको छ ।
भिडियोलाई मनराम केसीले निर्देशन गरेका हुन् । एस कुमारको छायांकन तथा सम्पादन रहेको भिडियोका निर्माता अशोक राना मगर हुन् । भावनात्मक कथा, आधुनिक प्रस्तुति र एआई प्रविधिको प्रयोगका कारण ‘माया बनेर…’ ले दर्शकमाझ फरक स्वाद दिन सफल हुने अपेक्षा गरिएको छ ।




