विश्वप्रसिद्ध Cannes Film Festival मा सहभागिता जनाएर स्वदेश फर्किएको नेपाली फिल्म Elephants in the Fog को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामा लाई नौमती बाजा बजाउँदै फूलमालासहित स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा विक्रम तिमिल्सिना, खड्गराज पौडेल, दिनेश डीसी, सूर्य थपलिया लगायत फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । फिल्म निर्देशक समाज र कलाकार संघका कार्यसमिति सदस्यहरू पनि स्वागत कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा मन्त्रीद्वयले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याएर मुलुकको नाम उच्च बनाएको भन्दै बधाइ दिएका थिए । उनीहरूले यो उपलब्धि सम्पूर्ण नेपाली फिल्म उद्योग र संस्कृतिका लागि गौरवको विषय भएको बताएका थिए । सूचना तथा सञ्चारमन्त्री तिमिल्सिनाले फरक धारका नेपाली सिनेमालाई राज्यले प्रोत्साहनस्वरूप विशेष बजेट छुट्याउने तयारी भइरहेको जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले फिल्मकर्मीहरूलाई “मुलुकका अवैतनिक दूत” को संज्ञा दिँदै नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा उनीहरूको योगदान महत्वपूर्ण रहेको बताए । फिल्म विकास बोर्ड ले पनि यसैसाता विशेष सम्मान कार्यक्रम आयोजना गर्दै फिल्म टिमलाई साढे दुई लाख रुपैयाँसहित सम्मान गर्ने जनाएको छ ।
उल्लेखनीय छ, यसैसाता Elephants in the Fog को विश्व प्रिमियर कान्स फिल्म फेस्टिभलअन्तर्गत “अन सर्टेन रिगार्ड” विधामा गरिएको थियो । फिल्मले उक्त विधामा जुरी पुरस्कारसमेत जितेर नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको छ ।




