राष्ट्रप्रेमी गीतकार विदुर खड्काको लेखन रहेको नयाँ गीत ‘चौतारिको डिलैमा’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीतमा सरोज प्याकुरेलको संगीत र गायक कृष्ण काफ्लेको स्वर रहेको छ । मनोहर सुनामको संगीत संयोजन तथा भोला पौडेलको मिक्सिङ–मास्टरिङ रहेको गीतले एकतर्फी प्रेमको भावनालाई सरल र भावुक ढंगले प्रस्तुत गरेको छ ।
भिडियोमा अभिनेता सन्दीपबाबु लोहनी, रचना शिवाकोटी र मोती सुवेदीको अभिनय देख्न सकिन्छ । भिडियोको कथा अनुसार चौतारिको डिलमा दैनिक देखिने एक युवतीप्रति आकर्षित भएको युवकले मनमनै प्रेम बसाल्छ, विवाहसम्मको सपना देख्छ, तर आफ्नो मनको कुरा खुलाउन भने सक्दैन । यही भावनात्मक पक्षलाई गीतमार्फत प्रस्तुत गरिएको गीतकार खड्काले बताएका छन् ।
गीतको भिडियोमा प्रकाश खड्काको छायांकन, संगीता चन्द ढकुरीको श्रृंगार तथा सम्पूर्ण कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन् । भिडियोको परिकल्पना संगीतकार सरोज प्याकुरेलले गरेका हुन् ।
सार्वजनिक भएपछि गीतको शब्द, संगीत र भिडियो प्रस्तुतीकरणको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । ग्रामीण परिवेश, प्रेमको निश्छल भावना र सरल कथावस्तुले दर्शकलाई आकर्षित गरेको प्रतिक्रिया प्राप्त भइरहेको निर्माण टिमले जनाएको छ ।




