आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ यतिबेला चर्चामा आएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने धेरै दर्शक भावुक बनेका छन् । प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतले आमा–बुबा र सन्तानबीचको निस्वार्थ सम्बन्धलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।
विशेषगरी सन्तानको भविष्यका लागि संघर्ष गर्ने अभिभावकको त्याग, माया र समर्पणलाई गीतले भावनात्मक ढंगले उतारेपछि दर्शकले आफूलाई गीतसँग जोडिएको प्रतिक्रिया दिएका छन् । गीत सार्वजनिक भएपछि टिकटक, फेसबुक र युट्युबमा दर्शकले भिडियो शेयर गर्दै आफ्ना आमा–बुबाप्रतिको भावना व्यक्त गरिरहेका छन् । धेरैले “आँखा रसाउने गीत”, “आफ्नो परिवार सम्झाइदियो” र “मन छोयो” जस्ता प्रतिक्रिया दिएका छन् ।
सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकारहरू फिचर्ड छन् । भिडियोमा समेटिएका भावनात्मक दृश्यले गीतलाई अझ प्रभावकारी बनाएको छ । गीतले फिल्मको मुख्य कथा र भावलाई पनि संकेत गरेको निर्माण पक्षको भनाइ छ । जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्र ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञान र अहिलेको शैक्षिक प्रणालीले बालबालिकामा पार्ने प्रभावको कथा प्रस्तुत गर्नेछ । फिल्मले ग्रामीण परिवेश, पारिवारिक संघर्ष र शिक्षासँग जोडिएको संवेदनशील विषय उठाएको बताइएको छ ।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् भने बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा रहेका छन् । फिल्मको कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन् ।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर तथा मदन घिमिरेको सम्पादन रहेको छ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्दैछन् ।




