आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुम्भ’को नयाँ रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार आरएए डिजिटल नेपालमार्फत गीत रिलिज गर्दै फिल्मप्रतिको दर्शक उत्सुकता थप बढाएको हो । ‘स्पर्श’ बोलको गीतमा गायक मनिष शाहीको स्वर रहेको छ भने गीतका शब्द फिल्मका लेखक तथा निर्देशक रन्धिर श्रेष्ठले लेखेका हुन् । गीतमा डीजे एएनको संगीत रहेको छ ।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार अशोक आर्यन र सृष्टि खड्काबीचको रोमान्टिक केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । प्रेम, भावना र सम्बन्धको मिठासलाई समेटिएको गीतको भिडियो दर्शकमाझ रुचाइने विश्वास निर्माण पक्षले लिएको छ ।एक्सन तथा सामाजिक कथावस्तुमा आधारित फिल्म ‘कुम्भ’मा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा र मुन्ना सर्राफलगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको लेखन, निर्देशन, छायांकन तथा सम्पादन रन्धिर श्रेष्ठ स्वयंले गरेका हुन् । फिल्ममा सम्राट बस्नेत, प्रदीप खड्का (भारत), सञ्जय थापा र कुमार महर्जनको एक्सन निर्देशन रहेको छ भने कोरियोग्राफी रोबर्ट सिंहले गरेका छन् ।
आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म आगामी मे २९ अर्थात् जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । यसअघि सार्वजनिक गरिएको फिल्मको टिजरले पनि राम्रो चर्चा बटुल्न सफल भएको थियो ।




