वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म ‘कमला मिस’को बहुप्रतीक्षित टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्मको टिजरले रहस्य, भावनात्मक द्वन्द्व र मानसिक संघर्षलाई प्रभावशाली ढंगले प्रस्तुत गर्दै दर्शकमाझ उत्सुकता बढाएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित फिल्म ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ ।
टिजरभरि देखाइएको मनोवैज्ञानिक तनाव, पात्रहरूको रहस्यमय प्रस्तुति र भावनात्मक उतारचढावले फिल्म फरक स्वादको हुने संकेत गरेको छ । करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यस फिल्ममार्फत पुनः सशक्त उपस्थितिको संकेत दिएका छन् । उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् । त्यसैले पनि ‘कमला मिस’लाई उनको अनुभव र सिर्जनात्मक दृष्टिकोणको नयाँ अध्यायका रूपमा हेरिएको छ ।
फिल्ममा निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ । विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा उमेश मल्ल, चैतन्य प्रधान, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् । चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) हुन् ।
विजय मल्लको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन् ।
‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।




