नेपाली गीत–संगीत तथा फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२६’को छैटौँ संस्करण आयोजना हुने भएको छ । विगतका वर्षझैँ यसपटक पनि अवार्ड समारोह स्टार वान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो ।आयोजकका अनुसार सन् २०२५ जनवरीदेखि सन् २०२६ मे महिनाको अन्त्यसम्म सार्वजनिक भएका गीत तथा म्युजिक भिडियोहरू अवार्डमा सहभागी हुन सक्नेछन् ।
अवार्डमा आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाडपर्व, भाषाभाषी, भेग विशेष तथा भजन विधाका गीतहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् । गीतसँगै म्युजिक भिडियो निर्माण टिमले समेत विभिन्न विधामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार संगीत, मोडलिङ तथा फेसन क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने व्यक्तित्वलाई ‘आजीवन योगदान सम्मान’ सहित विशेष सम्मान प्रदान गरिनेछ ।
फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप आर्टिस्ट, फेसन हेयर स्टाइलिस्ट, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्युटी पेजेन्ट उपाधि विजेता, फेसन आइकन, फेसन तथा ब्युटी पेजेन्ट फोटोग्राफर, उत्कृष्ट फेसन शो तथा ब्युटी पेजेन्ट, फेसन डिजाइनिङ इन्स्टिच्युट र इन्टरनेशनल पेजेन्ट डाइरेक्टरलगायत विधामा प्रतिस्पर्धा हुनेछ ।
आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार अवार्डमा सहभागी हुन चाहनेका लागि जेठ ५ गतेदेखि आवेदन फारम खुला गरिएको छ । इच्छुक व्यक्तिहरूले आगामी असार १३ गतेभित्र आवेदन फारम बुझाइसक्नुपर्नेछ । फारम स्टार वान इन्टरटेनमेन्टको नयाँ बानेश्वरस्थित कार्यालय तथा एसपी क्रियसन प्रा.लि., पुतलीसडकबाट प्राप्त गर्न सकिने जनाइएको छ । अवार्ड समारोह आगामी असारको अन्तिम साता आयोजना गरिने तयारी रहेको आयोजकले जनाएको छ ।




