राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनको आकर्षक केन्द्र बनेको छ । ‘आईईसी डिजाइनर रनवे–१५’ नामक भव्य फेसन शोमा १८ सेलिब्रेटी तथा मोडलहरूले एउटै र्याम्पमा नयाँ र नौला डिजाइन प्रस्तुत गरेका छन् । आईईसी कलेजको आयोजनामा सम्पन्न उक्त फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, निती शाह, मिस नेपाल श्रीच्छा प्रधान, अस्मी श्रेष्ठ, कविता नेपाली, हिमान्चल राज केसी, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडे लगायतका सेलिब्रेटीहरूले र्याम्पमा आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा ६६ भन्दा बढी डिजाइनरहरूले तयार पारेका विभिन्न आकर्षक डिजाइनहरू ३० व्यवसायिक मोडलमार्फत १७ सिक्वेन्समा प्रस्तुत गरिएको थियो । र्याम्प शोमा दर्शकको उत्साहपूर्ण सहभागिता रह्यो भने प्रस्तुति हेर्दा हलभरि ताली र सिटीको गडगडाहट गुन्जिएको थियो । भारतका चर्चित कोरियोग्राफर यतिन गान्धीको कोरियोग्राफी रहेको शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गरेको हो ।
आयोजकका अनुसार यो शो हालसम्मकै भव्य र व्यवस्थित फेसन शोमध्ये एक बनेको छ । नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरे । आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन डिजाइनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रमले नेपाली डिजाइनरहरूको सिर्जनशीलता प्रदर्शन गर्दै फेसन उद्योगलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।




