साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठ को नवीन साहित्यिक कृति ‘इमा’ राजधानी काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । आइतबार चलचित्र विकास बोर्ड परिसरमा आयोजित साहित्यिक तथा सांगीतिक वातावरणले भरिएको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. अञ्जना शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने लेखिका स्वयंले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो ।
विशिष्ट अतिथिहरूमा इजरायली राजदूत इस्मुलीक एल्विस र मिरा परेडयार, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष शंकर थापा ‘स्माइल’, गीतकार अम्बिका गुरुङ, गायिका मिलन नेवा, सरिता शाही, सुवर्णकेशरी महत लगायत साहित्य, संगीत र सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा ‘इमा’ कृतिको लोकार्पण गरेका थिए ।
लोकार्पणसँगै हलमा तालीको गडगडाहट गुन्जिएको थियो भने सहभागीहरूले लेखिकाको सिर्जनात्मक यात्राको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै पेमा डोल्मा डेल्मुले वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा केयर गिभरका रूपमा काम गर्दै साहित्य सिर्जना गर्नु आफैँमा प्रेरणादायी भएको बताउनुभयो । उहाँले कठिन परिस्थितिबीच पनि लेखिकाले आफ्ना अनुभवलाई पुस्तकको रूपमा उतार्न सफल भएको उल्लेख गर्नुभयो ।
लेखिका कादम्बरी दाना श्रेष्ठले भावुक हुँदै इजरायलमा काम गर्दा आफूले जीवनका अनेक अनुभव, संघर्ष र आत्मीय सम्बन्ध नजिकबाट महसुस गरेको बताउनुभयो । उहाँले पुस्तक प्रकाशनमा परिवारको सहयोग रहेको उल्लेख गर्दै दिवंगत माया वाइनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । ‘इमा’ इजरायली शब्द हो, जसको अर्थ ‘आमा’ हुन्छ । कृतिमा आमाप्रतिको माया, वैदेशिक भूमिमा काम गर्ने नेपालीको भावनात्मक संघर्ष, संस्कृतिको अन्तरसम्बन्ध र मानवीय संवेदनाका विविध पक्ष समेटिएको छ ।
इजरायली राजदूत इस्मुलीक एल्विसले नेपाल–इजरायल सांस्कृतिक सम्बन्ध मजबुत बनाउन यस्ता कृतिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रमुख अतिथि डा. अञ्जना शाक्यले ‘इमा’ लाई केयर गिभरहरूको साझा भावना र अनुभवको दस्तावेजका रूपमा वर्णन गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो । समारोहले ‘इमा’ लाई केवल पुस्तक विमोचनमा सीमित नराखी वैदेशिक जीवनको मानवीय कथा उजागर गर्ने महत्वपूर्ण साहित्यिक कृतिका रूपमा स्थापित गरेको सहभागीहरूको भनाइ थियो ।




