ग्रामीण जीवनशैली र गहिरो प्रेमभावलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ लोकगीत हालै सार्वजनिक भएको छ । सार्वजनिक गीतले नेपाली गाउँघरको मौलिक परिवेश, लेक–बेँसीको जीवनशैली र खेतबारीमा उम्रिने माया–प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । गीतको भिडियोमा धान र गहुँ काट्ने क्रममा गाउँघरमा विकसित हुने आत्मीय सम्बन्ध, प्रेम र भावनात्मक क्षणलाई जीवन्त ढंगले उतार्ने प्रयास गरिएको छ ।
ग्रामीण परिवेश, हरियाली खेत र स्थानीय संस्कृतिले भिडियोलाई थप आकर्षक बनाएको देखिन्छ । गीतमा गायक अनिस लिम्बू र गायिका शान्तिश्री परियार को सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत मनिपाल राईले तयार गरेका हुन् ।
भिडियोतर्फ चर्चित टेलिसिरियल ‘जुठे’की अभिनेत्री सरिता ढुङ्गाना (जुनकिरी मैया) र अर्जुन खड्काको लिड अभिनय तथा नृत्य देख्न सकिन्छ । उनीहरूको केमेस्ट्री र ग्रामीण शैलीको प्रस्तुतीकरणले भिडियोलाई अझ जीवन्त बनाएको छ ।
भिडियोमा आकर्षक लोकेसनसँगै कोरस प्रयोगलाई पनि विशेष प्राथमिकता दिइएको छ । विशाल थापाको छायांकन रहेको भिडियो अर्जुन खड्काले सम्पादन गरेका हुन् । खगेन्द्र गिरीको कोरियोग्राफी रहेको भिडियोको निर्देशन विजय मगरले गरेका छन् ।




