प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा फिल्म ‘लालीबजार’ले दर्शकसँगै फिल्मकर्मीको पनि मन जित्न सफल भएको छ । सोमबार साँझ काठमाडौंस्थित जय नेपाल हलमा आयोजित विशेष प्रदर्शनीपछि उपस्थित कलाकार तथा स्रष्टाहरूले फिल्मको विषयवस्तु, प्रस्तुति र अभिनयको खुलेर प्रशंसा गरे । विशेष प्रदर्शनीपछि अभिनेता तथा निर्देशक नीर शाह ले ‘लालीबजार’लाई नेपाली समाजको यथार्थ बोकेको संवेदनशील फिल्मको संज्ञा दिए । उनले फिल्मले दर्शकलाई सुरुदेखि अन्त्यसम्म भावनात्मक रूपमा बाँधेर राख्ने बताए ।
“हामीले नेपाली परिवेशको यति आत्मीय कथा कमै देखेका छौँ । फिल्म हेर्दा पात्रहरू अभिनय गरिरहेका छन् भन्ने होइन, उनीहरू साँच्चिकै त्यही जीवन बाँचिरहेका छन् भन्ने महसुस हुन्छ,” उनले भने । उनले अभिनेत्री स्वस्तिमा खड्का को अभिनयलाई करिअरकै सबैभन्दा शक्तिशाली प्रस्तुतिमध्ये एक भन्दै प्रशंसा गरे । अभिनेत्री प्रियंका कार्की ले ‘लालीबजार’लाई “भावनाले भरिएको सशक्त सिनेमा” बताइन् । उनका अनुसार फिल्मको पटकथा र दृश्य संरचनाले दर्शकलाई एक क्षण पनि विचलित हुन दिँदैन ।
अभिनेत्री वर्षा राउत ले सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरिन् । उनले भनिन्, “यो केवल एउटा फिल्म होइन, समाजभित्र लुकेका धेरै यथार्थको ऐना हो ।” फिल्ममा समावेश चर्चित गीत ‘मायालाई के दिउँ म बैना’का गायक तथा संगीतकार खेम सेन्चुरी पनि फिल्म हेरेपछि भावुक बने । उनले फिल्मले एउटी आमाको संघर्ष र सन्तानप्रतिको प्रेमलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।
फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले दर्शकबाट पाइरहेको मायाले सम्पूर्ण टिम उत्साहित बनेको बताइन् । उनका अनुसार अहिले टिम काठमाडौंसँगै मोफसलका विभिन्न शहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । निर्देशक यम थापा को कथा तथा निर्देशन रहेको ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
विशाल देवकोटा र प्रशंसा सुवेदीले यही फिल्ममार्फत अभिनय यात्रा सुरु गरेका हुन् । फिल्मको पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।




