जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली फिल्म मितज्यूको ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो । सार्वजनिक ट्रेलरमा दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएका पात्रका रूपमा देखिएका छन् । गाउँमा नयाँ बाटो खुलेपछि गाडी चालक बनेका उनीहरूबीच कसले यात्रुलाई छिटो गन्तव्यमा पुर्याउने भन्ने प्रतिस्पर्धा देखाइएको छ । प्रतिस्पर्धाबीच पनि उनीहरूको मित्रता, गाउँले सम्बन्ध र भावनात्मक उतारचढाव ट्रेलरको मुख्य आकर्षण बनेको छ ।
ट्रेलरमा तेरिया मगरले निर्वाह गरेको मितिनी पात्रले गाउँले शैलीमा प्रस्तुत गरेको संवादले दर्शकको ध्यान खिचेको छ । साथै, मितेरी सम्बन्धलाई हल्का रूपमा नलिन ज्योतिषीले दिएको चेतावनीले कथामा थप रहस्य र द्वन्द्वको संकेत गर्छ । निर्माण टिमका अनुसार फिल्मले नेपाली समाजमा कुनै समय निकै प्रचलित रहेको ‘मितेरी साइनो’को सामाजिक, सांस्कृतिक र भावनात्मक पक्षलाई गहिराइमा अध्ययन गरेर प्रस्तुत गरेको छ ।
ग्रामीण परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुषा राई तथा खड्गबहादुर पुन मगरको अभिनय रहेको छ । यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् । साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको निर्माण पक्षले जनाएको छ ।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । गीतमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ भने मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । आगामी जेठ ८ गतेबाट नेपालभर प्रदर्शनमा आउने फिल्म हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा प्रदर्शन अधिकार बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ ।




