शिव श्रेष्ठ फाउन्डेशनको आयोजनामा, चलचित्र विकास बोर्डको सहकार्य तथा लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्षअघि निर्माण भएको नेपाली फिल्म जीवनरेखाको विशेष प्रदर्शन गरिएको छ । निर्देशक प्रकाश थापाद्वारा निर्देशित उक्त फिल्म नारायणघाटस्थित जलमा हलमा प्रदर्शन गरिएको हो । कार्यक्रममा डिजिटल सिनेमा नेपाल (डीसीएन) को पनि सहयोग रहेको थियो ।
नेपाली फिल्म इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरु गर्ने तयारी गरेको जनाएको छ । सोही अभियानको नमूना परीक्षणस्वरूप शिव श्रेष्ठ फाउन्डेशनसँगको सहकार्यमा ‘जीवनरेखा’ प्रदर्शन गरिएको हो ।

बोर्डका अनुसार यस अभियानअन्तर्गत ३० वर्षभन्दा पुराना नेपाली फिल्महरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिनेछ। यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड फिल्म डिजिटाइज गरिसकिएको र थप १० वटा ऐतिहासिक, अभिलेखीय तथा साहित्यिक महत्वका फिल्म डिजिटाइज गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

कार्यक्रममा नीर शाह, दिनेश डिसी, प्रकाश सायमी, आकाश अधिकारी, शिव श्रेष्ठ, रवी अधिकारी, वीरेन्द्रनारायण श्रेष्ठ, चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ र दीपक अधिकारीलगायत चलचित्रकर्मी तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । फिल्म जीवनरेखामा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के, प्रकाश थापा, अर्जुनजंग शाही, वसुन्धरा भुषाल, गोपालराज मैनाली र हरिवंश आचार्यको अभिनय रहेको छ ।




