घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको नेपाली फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘चुड्का भजन’ सार्वजनिक गरिएको छ । प्रदर्शनको तेस्रो दिनसम्म आइपुग्दा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको खुसीयालीमा निर्माण पक्षले फिल्ममा समावेश उक्त गीतको भिडियो सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ भने किरण भुसाललगायतको स्वर सुन्न सकिन्छ । संगीत निर्देशन पनि किरण भुसालकै रहेको गीतमा परम्परागत चुड्का लयको प्रयोग गरिएको छ ।
गीतको तालवाद्यमा किरण भुसाल र रायपुर समुदायले साथ दिएका छन् भने मादल, मुजुरा र खैँजडीमा सन्देश पौडेलको प्रस्तुति रहेको छ । गोविन्द पी.के. आँशु, अच्युत कडेल, सञ्जय (सपुत मोक्तान), राहुल मोक्तान, दिनेश लामा, ह्वाञ्ची लामा र मोहनको अतिरिक्त स्वर रहेको गीतलाई रिदम कँडेलले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । निर्माण पक्षका अनुसार बलियो ‘वर्ड अफ माउथ’का कारण देशभरका हलहरूमा दर्शकको चाप बढ्दो छ ।
शनिबार राजधानीका विभिन्न हलमा पुगेका वरिष्ठ गायक तथा निर्माता रामकृष्ण ढकालसहित कलाकार वर्षा राउत, विजय बराल र मेक्सम गौडेललाई दर्शकले हुटिङ र तालीसहित स्वागत गरेका थिए । फिल्म हेरेर बाहिरिएका दर्शकले यसलाई हँसाउने र भावुक बनाउने ‘नेपालीपन बोकेको मास्टरपिस’को संज्ञा दिएका छन् । विशेषगरी वर्षा राउतको भावनात्मक अभिनय तथा विजय बराल र मेक्सम गौडेलको प्रस्तुतिको प्रशंसा भइरहेको छ । रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक प्रकु पाण्डेयकै कथा रहेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन् ।
चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेलसँगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको अभिनय रहेको छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन् । महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गरिरहेको छ ।




