चलचित्र विकास बोर्डले जातीय तथा मातृभाषी चलचित्र क्षेत्रको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै भुजेल चलचित्रकर्मी संघसँगको सहकार्यमा पाँच दिने अभिनय कला तालिम सुरु गरेको छ । भुजेल चलचित्रकर्मी संघको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रम बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
पछिल्लो समय बोर्डले मूलधारसँगै जातीय, भाषिक र सांस्कृतिक पहिचान बोकेका चलचित्र क्षेत्रको क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ । सोही उद्देश्यअनुसार भुजेल समुदायका कलाकार तथा चलचित्रकर्मीलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, भुजेल समाज सेवा केन्द्रीय समितिका उपाध्यक्ष रामगोपाल भुजेल, महासचिव हिलारी बन्धु भुजेललगायत विभिन्न जातीय चलचित्र संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पाँच दिने तालिममा प्रशिक्षकहरू आरुस जंग मगर र चन्द्र बहादुर भुजेलले अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, क्यामेरा अगाडिको प्रस्तुति तथा कलाकारको व्यावसायिक अनुशासनबारे प्रशिक्षण दिनेछन् । भुजेल चलचित्रकर्मी संघका अध्यक्ष अमृत सिंह भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले जातीय चलचित्र केवल मनोरञ्जन नभई भाषा, संस्कृति, इतिहास र समुदायको पहिचान संरक्षण गर्ने महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरे ।
बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रको दायरा फराकिलो बनाउन सबै भाषा, संस्कृति र समुदायका चलचित्रकर्मीलाई अवसर, प्रशिक्षण र संस्थागत सहयोग आवश्यक रहेको बताए । उनले समावेशी चलचित्र वातावरण निर्माणमा बोर्डले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । आयोजकका अनुसार तालिमले भुजेल समुदायका नयाँ तथा सक्रिय कलाकारहरूलाई अभिनय क्षेत्रमा आत्मविश्वास र सीप विकास गर्न सहयोग पुग्नेछ । साथै, भुजेल भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।




