वरिष्ठ लोकगायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महानायक राजेश हमालले गीतको भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, गायक बम बहादुर कार्की, निर्देशक देवेन्द्र पाण्डे, गायिका तथा गोरखा म्युजिककी सञ्चालक शिवा आले कार्कीलगायतको उपस्थिति रहेको थियो ।
प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्वलाई केन्द्रमा राखेर तयार गरिएको गीतले समाजमा संरक्षणको सशक्त सन्देश प्रवाह गरेको छ । भिडियोमा नेपाली चलचित्र क्षेत्रका सदाबहार जोडी राजेश हमाल र करिश्मा मानन्धरको रोमान्टिक प्रस्तुति देख्न सकिन्छ। लामो समयपछि एउटै भिडियोमा देखिएको यो जोडीलाई दर्शकले विशेष रुचाएका छन् । भिडियोमा सगुन कार्कीको पनि अभिनय रहेको छ ।
गीतमा शब्द तथा संगीत स्वयं बम बहादुर कार्कीकै रहेको छ भने स्वरमा उनलाई शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनमले साथ दिएका छन् । संगीत संयोजन बि.बि. अनुरागीले गरेका हुन् । देवेन्द्र पाण्डेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नेपालका सुन्दर पहाड, नदी, झरना र प्राकृतिक दृश्यलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतले ‘पानी नै जीवन हो’ भन्ने मूल भाव प्रस्तुत गर्दै यसको संरक्षण गर्न सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा बोल्दै राजेश हमालले पानी मानव जीवनको आधार भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । उनले गायक बम बहादुर कार्कीको योगदानको प्रशंसा गर्दै ‘पानको पात’ जस्ता गीतले विश्वभर नेपाली लोकसंगीतलाई चिनाएको स्मरण गरे ।अभिनेत्री करिश्मा मानन्धरले गीत र भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् भने गायक बम बहादुर कार्कीले पानी संरक्षणको सन्देश फैलाउने उद्देश्यले गीत तयार गरिएको बताए ।
गीत गोरखा म्युजिकमार्फत सार्वजनिक गरिएको हो ।




