गायक तथा संगीतकर्मी बिबेक महर्जन बोबाको नयाँ म्युजिक भिडियो ‘ढ्याप्पा’ सार्वजनिक भएको छ । परम्परागत नेपाली खेल ‘लुकामारी’बाट प्रेरित गीतलाई आधुनिक पप–फ्युजन शैलीमा प्रस्तुत गरिएको छ । गीतको शीर्षक ‘ढ्याप्पा’ लुकामारी खेल्दा खोज्ने व्यक्तिले अरूलाई भेटेपछि बोलिने शब्दबाट प्रेरित भएको गायक महर्जनले बताएका छन् ।
उनका अनुसार यो गीत सोही नामको एल्बमअन्तर्गत समावेश छ, जसले उनको सांगीतिक यात्रा र भावनात्मक अनुभूतिका विभिन्न पाटोलाई प्रतिनिधित्व गर्छ । गीतमा व्यक्तिगत अनुभूति, संघर्ष र दुःखलाई पन्छाउँदै खुशी र सकारात्मकतर्फ अघि बढ्ने भाव प्रस्तुत गरिएको छ । भिडियोमा नेपाली सांस्कृतिक परिवेशलाई आधुनिक भिजुअल शैलीसँग संयोजन गरिएको देख्न सकिन्छ ।
गीतको शब्द, संगीत तथा स्वर स्वयं बिबेक महर्जन बोबाकै रहेको छ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ फिरोज बज्राचार्यले गरेका छन् । भिडियोमा मनोज महर्जन र किरण शाही ठाकुरीको अभिनय रहेको छ । छायांकन अक्रिस्ट शाक्यले गरेका हुन् भने सहायक क्यामेरामा सुनिल काफ्ले रहेका छन् ।
भिडियोको सम्पादन तथा ग्राफिक्स बिजन राज बज्राचार्यले गरेका छन् । कोरियोग्राफी रोहिया महर्जनको रहेको भिडियोमा नरेश सुनाम सह–कोरियोग्राफरका रूपमा रहेका छन् । आधुनिक पप–फ्युजन शैलीमा तयार गरिएको ‘ढ्याप्पा’मा नेपाली मौलिकताको स्वादसमेत अनुभव गर्न सकिन्छ । भिडियोको निर्देशन विश्वास बज्राचार्यले गरेका हुन् ।




