अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्म ‘आ बाट आमा २’ले छायांकनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गरेको छ । निर्माण टिमका अनुसार फिल्मको अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । निर्देशक तथा निर्माता चन्द्र पन्तका अनुसार डोको फिल्म्सले फिल्मको अमेरिका र क्यानडाको प्रदर्शन अधिकार नेपाली फिल्म इतिहासकै महँगो रकममा खरिद गरेको हो । फिल्मको घोषणा लगत्तै विदेशमा माग बढ्न थालेपछि निर्माण टिम उत्साहित बनेको छ ।
निर्देशक पन्तले अन्य देशका वितरकहरूसँग पनि प्रदर्शन अधिकारबारे छलफल भइरहेको जानकारी दिएका छन् । उनले भने, “अमेरिका र क्यानडाका लागि फिल्म सोल्ड आउट भइसकेको छ । अन्य देशबाट पनि राम्रो माग आएको छ, छिट्टै थप जानकारी सार्वजनिक गर्छौं ।”
गत वर्ष प्रदर्शन भएको ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा उल्लेखनीय व्यापारसँगै दर्शकमाझ ठूलो चर्चा कमाएको थियो । पहिलो भागको सफलताकै प्रभावस्वरूप सिक्वेलप्रति विदेशमा समेत उच्च चासो देखिएको निर्माण पक्षको दाबी छ । फिल्ममा पल शाहसँगै विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत, गजित बिष्ट र नरेन खड्कालगायत कलाकार अनुबन्ध भइसकेका छन् । अन्य कलाकार तथा अभिनेत्रीको छनोट प्रक्रिया भने जारी रहेको बताइएको छ ।
आगामी दशैंको अवसर पारेर असोज ३० गते प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंको रहनेछ । आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर Digitalले लिइसकेको छ । आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् भने निर्माण टिमले छायांकन तालिका केही दिनमै सार्वजनिक गर्ने जनाएको छ ।




