गीतकार रामेश्वर के.सी.का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराईको स्वर र संगीतमा तयार गरिएको पाँच गीत समावेश गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित विशेष समारोहबीच एल्बम लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापालगायत स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले गीतकार रामेश्वर के.सी.को शब्द सिर्जना तथा बबिना भट्टराईको गायन र संगीतको प्रशंसा गरेका थिए । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय बबिनाले आधुनिक, गजल, भजन, लोक तथा बालगीतमा स्वर र संगीत दिँदै आएकी छन् ।
समारोहमा एल्बममा समावेश तीन वटा म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो। ‘आरम्भ’मा रहेका पाँचवटै गीतका भिडियोहरू बबिना भट्टराईको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।




