गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको नयाँ गीत ‘जोवन सुईंकेला’ सार्वजनिक भएको छ । आफ्नै शब्द, संगीत तथा स्वर रहेको गीतमार्फत सिवाकोटी फेरि फरक शैलीमा दर्शक–श्रोतामाझ आएका हुन् । गीतमा राजनराजलाई गायक तारावीर पाण्डे र गायिका मिलन नेवारले स्वरमा साथ दिएका छन् ।
साथीभाइबीच हुने रमाइलो गफगाफ, ठट्टा र छेडखानीको स्वादलाई समेटेर तयार पारिएको गीतले हल्का–फुल्का मनोरञ्जन दिने प्रयास गरेको छ । तीनै गायक–गायिकाबीचको संवादात्मक प्रस्तुति गीतको विशेष पक्ष बनेको छ । भिडियोमा आश्मा विश्वकर्मा, प्रभात पल ठकुरी र सम्राट अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ ।
भिडियोमा लोकेसन र कोरस प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ, जसले दृश्यलाई थप रंगीन बनाएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफीमा भिडियोको निर्देशन राजेश पुमा राईले गरेका छन् ।
सार्वजनिक भएको गीतलाई दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।




