सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक गरिएको छ । यसअघि रिलिज भएको ‘रेल घुम्यो घुम्तीमा’ गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले शुक्रबार युट्युबमार्फत दोस्रो गीत सार्वजनिक गरेको हो ।
गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन १’की फाइनलिस्ट श्रेया राईको शब्द, संगीत तथा स्वर रहेको छ । पार्श्व गायनमा श्रेयाको यो डेब्यू गीत हो । सार्वजनिक भिडियोमा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई केन्द्रमा राखिएको छ । विवाह हुन लागेको संकेत दिने दृश्यहरूबीच उनी भावुक र सम्झनामा हराएको अवस्थामा देखिन्छिन् । विवाहअघि एक युवतीको मनमा आउने घर, परिवार र बाल्यकालसँग जोडिएका भावनात्मक स्मृतिहरूलाई भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
जेठ १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, गौरव विष्ट, मनिष निरौला, सहयोग अधिकारी, अस्मिता गौतम, शेखर चापागाईँ र अविरलप्रताप अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ । अभिनेत्री निशा शर्माले यही फिल्ममार्फत करिब तीन दशकपछि अभिनयमा पुनरागमन गरेकी हुन् ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त निर्माण रहेको फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । निर्माण टिममा जर्मनीकी सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि आबद्ध छन् ।
फिल्मको छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन् भने सम्पादन भारतकी दीपा भाटियाले गरेकी छन् । भावनात्मक कथावस्तु र स्तरीय प्रस्तुतीका कारण ‘एक मुठ्ठी बादल’ प्रती दर्शकमाझ उत्सुकता बढ्दै गएको निर्माण पक्षको विश्वास छ । फिल्म ‘एक मुठ्ठी बादल’ जेठ १ गतेबाट रिलिज हुँदैछ ।




