शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ले बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मले दर्शकको राम्रो साथ पाएको निर्माण पक्षले जनाएको छ । विशेषगरी काठमाडौं उपत्यकासहित मोफसलका हलहरूमा दर्शकको उपस्थितिले निर्माण टिम उत्साहित बनेको छ । त्यसो त फिल्मले प्रिमियर शोमा समेत निक्कै राम्रो रिभ्यु बटुलेको थियो । पारिवारिक कथा, संगीत र भावनात्मक प्रस्तुतिका कारण फिल्मप्रति दर्शकको आकर्षण बढिरहेको वितरक पक्षले जनाएको छ ।
निर्माण टिमका अनुसार शुक्रबार र शनिबार अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो । सामाजिक सञ्जालमा पनि फिल्मप्रति सकारात्मक प्रतिक्रिया आइरहेका छन्। दर्शकले फिल्मको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयलाई मन पराएको प्रतिक्रिया दिएका छन् । गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म भएकाले पनि दर्शकमाझ विशेष चासो देखिएको छ ।
फिल्ममा समावेश ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र ‘झ्याम पारम’ लगायतका गीतले रिलिजअघि नै राम्रो चर्चा पाएका थिए, जसको प्रभाव बक्सअफिसमा पनि देखिएको निर्माण पक्षको विश्वास छ । प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्ममा विजय, वर्षा, मेक्सम, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ । त्यसो त फिल्मले प्रिमियर शोमा समेत निक्कै राम्रो रिभ्यु बटुलेको थियो ।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार गरेका छन् । फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन र सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ । आरआर फिल्म्सले वितरण गरिरहेको ‘मालती मंगले’ले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।




