वैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ले प्रदर्शनअघि आयोजित प्रिमियर शोमै दर्शक तथा फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको छ । बिहीबार बेलुका सम्पन्न भव्य प्रिमियरमा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यदेखि बादी समुदायका अभियन्तासम्मले फिल्मको खुलेर प्रशंसा गरेका हुन् । कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मलाई “सबै पक्षमा अब्बल” भन्दै १० मा १० नम्बर दिन योग्य रहेको प्रतिक्रिया दिए । उनले नेपाली समाजको कथा र आमा–छोरीबीचको भावनात्मक सम्बन्धलाई फिल्मले प्रभावशाली ढंगले प्रस्तुत गरेको बताए ।
हरिवंश आचार्यले पनि ‘लालीबजार’ आफूले पछिल्लो समय हेरेका उत्कृष्ट नेपाली फिल्ममध्ये एक रहेको प्रतिक्रिया दिए। “यो फिल्मलाई शब्दमा बयान गर्न गाह्रो छ । मनोरञ्जनसँगै गहिरो सामाजिक सन्देश बोकेको फिल्म बनेको छ,” उनले भने । प्रिमियरमा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको विशेष प्रशंसा गर्दै फिल्मलाई “बबाल” रहेको प्रतिक्रिया दिए । उनले स्वस्तिमाले यस फिल्ममार्फत आफ्नो अभिनय क्षमतालाई अझ उचाइमा पुर्याएको बताए ।
पूर्व मन्त्री सुमना श्रेष्ठले फिल्मले समाजमा रहेको विभेद र त्यसविरुद्ध उठाउनुपर्ने आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताइन् । उनले ‘लालीबजार’लाई सामाजिक चेतनासहितको परिपक्व फिल्मको संज्ञा दिइन् । नेता रवीन्द्र मिश्रले नेपाली समाजको एउटा पीडादायी यथार्थलाई फिल्मले कलात्मक ढंगले उठाएको बताए । “यो केवल एउटा समुदायको कथा होइन, आमाले छोरीका लागि गर्ने संघर्षको कथा हो,” उनले प्रतिक्रिया दिए ।
बादी समुदायकी अभियन्ता देवीसरा बादीले फिल्म हेर्दा आफ्नै जीवन र आमाको संघर्ष सम्झिएको बताइन् । “यो मेरो पनि कथा हो । हरेक आमा र छोरीले हेर्नुपर्ने फिल्म बनेको छ,” उनले भनिन् । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले पनि फिल्मले अपेक्षाभन्दा बढी प्रभाव पारेको प्रतिक्रिया दिए । उनले मनोरञ्जनसँगै महत्वपूर्ण सामाजिक सन्देश बोकेको फिल्म धेरै दर्शकसम्म पुग्नुपर्ने बताए ।
फिल्मका निर्देशक तथा लेखक यम थापाले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको बताए । “पहिलो दर्शकबाटै पाएको माया र प्रतिक्रियाले फिल्मप्रति अझ विश्वास बढाएको छ,” उनले भने । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय डेब्यु गरेका छन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा तथा संवाद प्रदीप भट्टराई र यम थापाले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन् भने प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन् ।




