युनीभर्सिटी अफ गुण्डाज्को टिजरले सार्वजनिक भएको छोटो समयमै दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको छ । अभिनेता सलिन मान बनिया र सलोन बस्नेत अभिनित एक्सन फिल्मको टिजरलाई दुई दिनमै १० लाख ६३ हजारभन्दा बढी दर्शकले युट्युबमा हेरेका छन् ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको १ मिनेट १२ सेकेण्ड लामो टिजरलाई हालसम्म ९ हजारभन्दा बढी लाइक र १२ सयभन्दा बढी कमेन्ट प्राप्त भएको छ । अधिकांश दर्शकले सलिन र सलोनको एक्सन अवतारको प्रशंसा गर्दै फिल्मप्रति उत्साह व्यक्त गरेका छन् ।
दर्शकले विशेषगरी सलिन मान बनियाको लामो अन्तरालपछि भएको कमब्याकलाई सकारात्मक रूपमा लिएका छन् । झण्डै आठ वर्षपछि पर्दामा फर्किएका सलिनलाई धेरैले “खाइलाग्दो एक्सन हिरो” भन्दै स्वागत गरेका छन् । कमेन्टकर्तामध्ये अनिता लम्सालले “फिल्मको फस्ट लुकले ठूलो हलचल मच्चाएको छ” भन्दै शुभकामना दिएकी छन् भने अर्का दर्शक प्रेम बराइलीले “सबै एक्सन हिरो साइड लाग, मेन हिरो आयो” भन्दै प्रतिक्रिया दिएका छन् ।
टिजरमा एक युवाले आफ्नो क्षेत्रमा प्रभुत्व जमाएको कथा संकेत गरिएको छ । एक्सन र ग्याङस्टर शैलीमा निर्माण भएको फिल्मले नयाँ स्वाद दिने दर्शकको अपेक्षा देखिन्छ । सान्भी इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा स्वयं सलिन मान बनियाले लेखेका हुन् भने निर्देशन सुरेश न्यौपानेले गरेका छन् । फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन रहेको छ ।
फिल्मको ब्याकग्राउण्ड स्कोर रोमन बज्राचार्यले तयार गरेका छन् भने साउण्ड डिजाइन मुकेश शाहको रहेको छ । भिएफएक्स मनोज श्रेष्ठ, सम्पादन तथा ट्रेलर कट बन्दे प्रसाद, कलर राजेन्द्र मोक्तान, स्क्रिनप्ले मन्दिप गौतम तथा डीओपी सौरभ लामाले सम्हालेका छन् । निर्माण टिमले हालसम्म अन्य कलाकार तथा प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन ।




