आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म मितज्यूले दर्शकलाई मनोरञ्जन र सामाजिक कथाको ‘कम्प्लिट प्याकेज’ दिने निर्माण टिमको दाबी छ । समाज, संस्कृति र मित्रताको कथामा आधारित फिल्ममा मनोरञ्जन पक्षलाई समेत प्राथमिकता दिँदै निर्माण टिमले नृत्यमा अब्बल कलाकार तेरिया मगरलाई मुख्य भूमिकामा प्रस्तुत गरेको छ । भारत र नेपालमा आफ्नो नृत्य कौशलमार्फत चर्चा कमाएकी तेरिया यस फिल्ममा केवल गीत वा विशेष उपस्थितिमा मात्र सीमित छैनन् ।
उनी फिल्मको मुख्य पात्रमध्ये एकका रूपमा देखिँदैछिन् । यसअघि सार्वजनिक भएका फिल्मका पोस्टर, गीत तथा अन्य सामग्रीले पनि उनको भूमिकालाई संकेत गरिसकेको छ । फिल्ममार्फत दर्शकले पहिलो पटक तेरियाको अभिनय यात्रा नजिकबाट अनुभव गर्न पाउनेछन् । साथै उनको नृत्य कौशल पनि फिल्मको आकर्षण रहने निर्माण पक्षको विश्वास छ ।
गत वर्ष घर ज्वाइँमार्फत सफलता हात पारेका निर्देशक अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई र सौगात मल्ल प्रमुख भूमिकामा छन् । दुई चर्चित अभिनेताको उपस्थितिले फिल्मप्रति दर्शकको अपेक्षा झनै बढेको छ । फिल्ममा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायत कलाकारहरूको अभिनय रहेको छ ।
जनक घर्ती मगरले निर्माण गरेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन तथा शिशिर बिशंखेको सिनेमाटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेश, संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ ।




