आगामी जेठ १५ गते प्रदर्शनमा आउने फिल्म रोल नं १को नयाँ लोकलय गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक गरिएको छ । निर्माण टिमले गीत रिलिज गर्दै फिल्मको प्रचारलाई थप तीव्र बनाएको हो । गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ । सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत स्वयं प्रशान्त शिवाकोटीले दिएका हुन् । प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले साथ दिएका छन् ।
सवाल–जवाफ शैलीमा तयार पारिएको गीतमा प्रेम प्रस्ताव, युवायुवतीबीचको संवाद र पारिवारिक पृष्ठभूमिबारेको चासोलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । गीतको भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायत कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।
जोन योञ्जनको निर्देशनमा बनेको फिल्मले विद्यार्थीको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् भने बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मलाई महेश दवाडीले लेखेका हुन् । म्याग्दीका विभिन्न रमणीय ग्रामीण क्षेत्रमा छायांकन गरिएको फिल्ममा शिवराम श्रेष्ठको डीओपी, रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक तथा मदन घिमिरेको सम्पादन रहेको छ।
निर्माता पौडेलका अनुसार फिल्म नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ। चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले गर्नेछन् ।




