कला पत्रकार तथा गीतकार गीता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०८१’ प्रदान गरिएको छ। शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो । अधिकारीलाई नगद राशिसहित सम्मान गरिएको थियो ।
दुई दशकभन्दा बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी हाल हिमालय टाइम्स राष्ट्रिय दैनिक र मिलाप राष्ट्रिय मासिक पत्रिकासँग आबद्ध रहनुभएको छ । समारोहमा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरिएको थियो । यस्तै शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा. भीमार्जुन आचार्य र निर्वाण सिं गुरुङ पनि सम्मानित भएका छन् ।

त्यसैगरी ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं र महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको थियो । ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ विपना तामाङ, सहिमा श्रेष्ठ र सुरेश लामाले प्राप्त गरेका छन् । ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ प्रमोद उपाध्यायलाई प्रदान गरिएको थियो भने कला पत्रकारिता पुरस्कार गीता अधिकारीसँगै अनन्त वाग्लेलाई पनि प्रदान गरिएको छ ।
कार्यक्रममा शम्भूजीत बाँस्कोटाले स्वर्गीय नातिकाजी श्रेष्ठले सङ्गीतलाई मनोरञ्जन मात्र नभई सामाजिक चेतना जगाउने माध्यमका रूपमा प्रयोग गरेको उल्लेख गरे । नातिकाजी स्मृति समाजले हरेक वर्ष नेपाली कला तथा सङ्गीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा सम्मानित कलाकर्मीहरूले नातिकाजीका चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गरेका थिए ।




