निर्देशक तथा अभिनेता विराज भट्टको बहुप्रतिक्षित फिल्म ‘१२ गाउँ २’मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ । फिल्मको छायांकन सुरु भएसँगै यसको कलाकार लाइनअपले दर्शकमाझ उत्साह थपेको छ । निर्माण टिमका अनुसार लामो समयदेखि फिल्म क्षेत्रबाट टाढिएका अभिनेता राजेश हमाल करिब दुई दशकपछि पुनः नेपाली फिल्ममा फर्किने भएका छन् ।
‘बाटुली’, ‘जय शिव शंकर’ र ‘म छुनी तिम्रो’ जस्ता फिल्ममार्फत पहिचान बनाएका हमालको यो कमब्याकलाई विशेष रूपमा हेरिएको छ । यस्तै, पहिलो भाग ‘१२ गाउँ’मा चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा निरन्तर रहनेछन् । उनको भूमिका दर्शकमाझ रुचाइएको थियो ।
निर्माण टिमका अनुसार फिल्मको छायांकन अहिले धमाधम भइरहेको छ । एक्सन, ड्रामा र पारिवारिक भावनालाई समेटेर तयार भइरहेको फिल्मलाई यस वर्षको दशैं, फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ । फिल्ममा विराज भट्टसहित नयाँ तथा चर्चित कलाकारहरूको अभिनय रहने बताइएको छ । पहिलो भागको सफलतापछि ‘१२ गाउँ २’प्रति दर्शकको अपेक्षा झन् बढेको निर्माण पक्षको दाबी छ ।

फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ । फिल्ममा बिराज भट्टसँगै समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ। छायांकन पक्षमा डीओपीको रूपमा महेश पौडेल रहेका छन् भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन् । एक्सन दृश्यका लागि ईस्टनर सिल्वा र शंकर महर्जनले फाइट कोरियोग्राफी गर्नेछन् ।
फिल्मको ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन् भने संगीतकारमा युग भुसाल, देबेन्द्र बराल र डीपी खनाल रहेका छन् । गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ । फिल्मको निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणब) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन् । वितरणतर्फ उपत्यकामा काफिया फिल्म्स प्रालिले र उपत्यका बाहिर कुबेर फिल्म्सले जिम्मा लिएका छन् । एक्सन र मनोरञ्जनको भरपूर मिश्रण रहने अपेक्षा गरिएको ‘१२ गाउँ २’ दर्शकमाझ प्रतिक्षा बनेको छ ।




