नेपाली फिल्म ‘लालीबजार’को प्रदर्शन गर्ने बाटो खुलेसँगै फिल्मको बुकिङ पनि खुला गरिएको छ। उच्च अदालत पाटनले फिल्मको प्रदर्शन रोक्का सम्बन्धी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि निर्माण टिमले आगामी वैशाख २५ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी अघि बढाएको हो ।
बुधबार न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले आदेश दिएसँगै देशभरका हलहरूमा फिल्मको अग्रिम बुकिङ खुलाइएको निर्माण कम्पनी षट्कोण आर्ट्स ले जनाएको छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अदालतको निर्णयपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको बताए। उनका अनुसार फिल्मले कुनै समुदायको भावनामा ठेस पुर्याउने नभई आमा र छोरीबीचको संघर्ष र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्छ।
निर्देशक तथा लेखक यम थापा ले पनि फिल्म हेरेपछि दर्शकमा रहेको भ्रम हट्ने विश्वास व्यक्त गरेका छन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी लगायत कलाकारहरूको अभिनय रहेको छ। विशाल देवकोटा र प्रशंसा सुवेदीले यही फिल्ममार्फत डेब्यु गरेका हुन्।
यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भट्टराईसँग मिलेर तयार गरिएको हो। फिल्ममा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ ।




