अभिनेता विपीन कार्की अब फिल्म ‘काजी’मार्फत ‘काजी’ पात्रमा दर्शकमाझ आउँदैछन् । नेपाली सिनेमामा ‘काजी’ नामलाई अभिनेता दयाहाङ राई ले ‘कबड्डी’ शृंखलामार्फत लोकप्रिय बनाएका थिए । अब भने विपीन आफ्नै शैलीको फरक ‘काजी’ लिएर पर्दामा देखिन लागेका हुन् । आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म ‘काजी’मा विपीनले खानदानी काजी परिवारको पात्र निभाएका छन् । निर्माण टिमका अनुसार फिल्म पारम्परिक काजी परिवारको पृष्ठभूमिमा आधारित प्रेमकथामा निर्माण गरिएको हो ।
हालै काठमाडौंमा आयोजित गीत रिलिज कार्यक्रममा बोल्दै विपीनले दयाहाङको ‘काजी’ र आफ्नो पात्रबीच कुनै तुलना नरहेको बताए । “दयाहाङ दाइले ‘काजी’ नामको पात्र गर्नुभयो, मैले खानदानी काजी परिवारको पात्र गरेको हुँ । उहाँको काजीसँग मैले रिलेट गरेको छैन। यो पात्र फरक छ, यहाँ आफू काजी हुँ भनेर प्रमाणित गर्नुपर्ने कुनै चुनौती छैन,” उनले भने ।
उनले फिल्म कुनै अराजक वा गाउँमा रवाफ देखाउने काजीको कथा नभई गहिरो प्रेमकथामा आधारित रहेको पनि खुलाए । “यो काजी र कजिनीको प्रेम कथा हो। मुनामदन वा रोमियो–जुलियट जस्तै प्रेमकथा,” विपीनले भने । फिल्ममा विपीनकी ‘कजिनी’का रूपमा केकी अधिकारी देखिएकी छन् । उनीहरूबीचको प्रेम र भावनात्मक सम्बन्ध फिल्मको मुख्य केन्द्रमा रहने बताइएको छ ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् । प्रदीप भारद्धाजको कथा रहेको फिल्मलाई चिन्तन राजभण्डारीले छायांकन गरेका हुन् । फिल्ममा विपीन र केकीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदी, नवराज गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, श्याम कुँवरको रंग संयोजन तथा सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी हुन् ।




