निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’मा अभिनेता सबिन श्रेष्ठको इन्ट्री भएको छ । निर्देशक तथा निर्माता पन्तले उनलाई फिल्मको एक मुख्य भूमिकामा अनुबन्ध गरेका हुन् । यसअघि नै फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ लगायत कलाकार अनुबन्ध भइसकेका छन् ।
फिल्मको शुभमुहूर्त पनि सम्पन्न भइसकेको छ। गत सोमबार बिहान निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा पूजा–अर्चनासहित फिल्मको औपचारिक सुरुआत गरेको हो । गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ सुपरहिट भएपछि यसको सिक्वेलका रूपमा ‘आ बाट आमा २’ निर्माण हुन लागेको हो । फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित बिष्ट, नरेन खड्का लगायत कलाकारहरूको अभिनय रहनेछ ।

फिल्मका अभिनेत्री भने अझै टुंगो लागिसकेको छैन। निर्माण टिमले हिरोइनको नाम हालसम्म गोप्य राखेको छ । आगामी दशैंलाई लक्षित गर्दै निर्माण गरिएको फिल्म केही साताभित्र फ्लोरमा जाने तयारीमा छ । फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ ।
आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। प्रोडक्सन म्यानेजरका रूपमा करणसिंह रसाली रहेका छन् ।




