सिक्किम निवासी गायिका शीतल क्षेत्रीले आफ्नो डेब्यु गीत ‘किन किन’ सार्वजनिक गरेकी छन् । प्रेममा पर्दा मनमा उत्पन्न हुने कौतूहल, उत्साह र आत्मविश्वासलाई समेटिएको यो गीत शीतलकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका छन् ।
शीतललाई स्वरमा सुवेक्षा बराइलीले कोरसमा साथ दिएकी छन् । भिडियोमा स्वयं शीतल मुख्य भूमिकामा देखिएकी छन्। उनलाई अभिनय तथा कोरियोग्राफीमा रोशन विश्वकर्माले साथ दिएका छन्। भिडियोमा शीतलको सौन्दर्यलाई गुलाब, बादल र मुस्कुराउँदा फूलसँग तुलना गर्दै काव्यिक ढंगले प्रस्तुत गरिएको छ ।
अर्जुन तिवारीको निर्देशनमा तयार भएको भिडियो प्राविधिक रूपमा आकर्षक देखिएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ । उल्लेखनीय छ, गायिका शीतल क्षेत्री ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ की सहभागीसमेत हुन् ।




