जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यु’ यतिबेला प्रदर्शनको संघारमा पुगेको छ । हराउँदै गएको पुरानो ‘मितेरी’ सम्बन्धलाई शीर्षक बनाएको यो फिल्मले पारिवारिक सम्बन्ध, मित्रता र जीवन संघर्षको कथा उठाएको छ । निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले करिब ८ वर्षअघि नै यस फिल्मको परिकल्पना गरेका थिए । सुरुवातमै अभिनेता दयाहाङ राई लाई लिएर काम गर्ने योजना बने पनि समय नमिल्दा सहकार्य हुन सकेको थिएन । पछि समय अनुकूल बनेपछि फिल्मले पूर्णता पाएको हो ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् भने नवअभिनेत्री टेरिया फौजा मगर पनि देखिएकी छन्। फिल्मका गीतहरू अहिले नै चर्चामा छन्, विशेषगरी ‘गैराघरे साइँली’ले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ । दयाहाङ राईका अनुसार ‘मितज्यु’ केवल एउटा कथा होइन, सम्बन्धहरूको गहिरो अध्ययन हो । उनले भने, “सरसर्ती हेर्दा यो पारिवारिक सम्बन्ध, मित्रता र पेशागत संघर्षको कथा हो । गाउँदेखि शहरसम्मको यात्रामा तीन जना चालकको जीवन, उनीहरूको सोच र जिम्मेवारी वरिपरि कथा घुम्छ ।”
टिजर र ट्रेलरले फिल्मको केही झलक मात्रै देखाउने उल्लेख गर्दै उनले सम्पूर्ण भाव बुझ्न फिल्म नै हेर्नुपर्ने बताए। “हरेक पात्रको आफ्नै कथा छ, जुन पूर्ण रूपमा बुझ्न दर्शकले फिल्म हेर्नुपर्छ,” उनले भने । आफ्नो भूमिकाबारे बोल्दै उनले यो पात्र आफूभन्दा फरक भए पनि यथार्थसँग जोडिएको बताए । “म पात्रको भित्री मनोविज्ञानसँग खेल्न रुचाउँछु । ‘मितज्यु’मा गहिरो पात्र पाएको छु, जुन अहिलेको सामाजिक–राजनीतिक सन्दर्भसँग पनि जोडिन्छ,” उनले थपे ।
सौगात मल्लसँगको सहकार्यबारे उनले प्रतिस्पर्धा भन्दा कथा र पात्रको उद्देश्य फरक रहेको बताए । “हाम्रो सम्बन्ध ‘लुट’ वा ‘कबड्डी’जस्तो छैन । यहाँ किन दौडिरहेका छौँ भन्ने कुरा नै फरक छ,” उनले संकेत गरे । नवअभिनेत्री टेरिया मगरसँगको अनुभव पनि सकारात्मक रहेको उनले बताए । “कलाकार भएपछि नयाँ–पुरानो भन्ने हुँदैन, स्क्रिप्टअनुसार सबैसँग एडजस्ट गर्नुपर्छ,” उनले भने ।
व्यक्तिगत रूपमा ‘मित’ लगाउने अनुभव नभए पनि यसको सामाजिक महत्वबारे जानकार रहेको बताउँदै उनले भने, “पहिले झगडा मिलाउन मित लगाउने चलन थियो। अहिले पनि विभिन्न सन्दर्भमा यसलाई सहकार्य वा गठबन्धनको रूपमा बुझ्न सकिन्छ ।” फिल्म ‘मितज्यु’ले हराउँदै गएको परम्परा र आधुनिक जीवनबीचको द्वन्द्वलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ ।




