विद्यार्थीको कथा बोकेको फिल्म ‘रोल नं १’को निर्माण टिम प्रचार–प्रसारलाई नयाँ ढंगले अघि बढाउँदै मोफसल दौडाहामा निस्किएको छ। पहिलो चरणमा टिम पूर्वी नेपालका झापा, मोरङ र सुनसरी पुगेको छ । “हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मनको कुरा…” भन्ने स्लोगनसहित निर्माण टिमले विद्यालयमै पुगेर विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया सुरु गरेको हो । कलाकार र गायक स्वयं कक्षाकोठामा पुगेर फिल्मबारे जानकारी दिँदै विद्यार्थीका अनुभव, भावना र कथा सुन्न थालेका छन् ।
यस अभियानमा अभिनेता मुकुन भुसाल, अभिनेत्री रेणु योगी तथा गायक तथा संगीतकार प्रशान्त शिवाकोटी सहभागी छन् । उनीहरूले विद्यार्थीहरूसँगको संवादमार्फत फिल्मप्रतिको उत्सुकता बढाइरहेका छन् । निर्माता विनोद पौडेलका अनुसार ‘रोल नं १’ले वर्तमान शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पारिरहेको प्रभावलाई उठाएको छ । “गलत अभ्यास र प्रतिस्पर्धात्मक दबाबले विद्यार्थीमा पारिरहेको असरलाई देखाउन खोजेका छौँ, त्यसैले विद्यालयमै पुगेर उनीहरूको कुरा सुन्ने प्रयास गरेका हौँ,” उनले बताए ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ भने बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिनेछन् । महेश दवाडीको लेखन रहेको फिल्म म्याग्दीका विभिन्न ग्रामीण क्षेत्रमा छायांकन गरिएको हो । प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र मदन घिमिरेको सम्पादन रहेको फिल्मलाई रिच इन्टरटेनमेन्ट र जेएम सिनेमाले वितरण गर्नेछन् ।
फिल्म ‘रोल नं १’ आगामी जेठ १५ गते (गणतन्त्र दिवस)बाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।




