आगामी जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को चर्चित गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्मले नयाँ भर्सनमार्फत दर्शकमाझ थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ । लोकलयमा आधारित मूल गीत दर्शकले रुचाएपछि निर्माण टिमले यसको र्याप भर्सन ल्याएको हो ।
सुमित पाठकको संगीतमा तयार यस गीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियल जीको स्वर रहेको छ भने शब्द हर्क साउदले रचना गरेका हुन् । नेपाल आइडल सिजन २ का उपविजेता सुमित पाठकले यस फिल्ममार्फत संगीत क्षेत्रमा नयाँ आयाम थपेका छन् । सहारा शर्माको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएको फिल्ममा जर्मनीकी सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलको समेत संलग्नता रहेको छ । लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन र गौरव मल्लिकको सम्पादन रहेको फिल्मका प्रायः सबै प्राविधिक विभागमा महिला नेतृत्व रहेको विशेषता छ । गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको संयुक्त निर्माण रहेको फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।
निर्माण टिमका अनुसार, फिल्मले पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र भावनात्मक द्वन्द्वलाई केन्द्रमा राख्दै दर्शकको मन छुने प्रयास गर्नेछ ।




