सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्व बोकेको नाढीमन ताललाई फिल्म छायांकन स्थलका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली फिल्मलाई अनुदान दिने घोषणा गरेको छ । पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आगामी आर्थिक वर्षको बजेटमै यस्तो व्यवस्था गरिने जानकारी दिए । उनका अनुसार, नाढीमन ताललाई फिल्ममैत्री गन्तव्यका रूपमा विकास गर्दै स्थानीय पर्यटन र अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष्य राखिएको छ ।
केही दिनअघि सोही स्थानमा सम्पन्न फिल्म महोत्सवमा काठमाडौंसहित विभिन्न स्थानबाट दुई दर्जनभन्दा बढी फिल्मकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो, जसले क्षेत्रको सम्भावनालाई थप उजागर गरेको गाउँपालिकाको भनाइ छ । यससँगै, गाउँपालिकाले नाढीमन ताललाई औपचारिक रूपमा चलचित्र छायांकन स्थलको सूचीमा समावेश गर्न चलचित्र विकास बोर्डमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गरेको जनाएको छ ।
हाल नेपाल सरकारले प्रकाशित गर्दै आएको “Filming in Nepal: The Ultimate Travel Guide to Film Sites” पुस्तकमा देशका महत्वपूर्ण छायांकन स्थलहरू समेटिँदै आएको छ । सोही सन्दर्भमा गाउँपालिकाले नाढीमन ताललाई उक्त गाइडबुक तथा चलचित्र विकास बोर्डको आधिकारिक “Filming in Nepal” प्लेटफर्ममा समावेश गर्न माग गरेको हो । गाउँपालिकाका अनुसार, करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको यो ताल द्वापर युग र महाभारतकालीन ‘यक्ष दह’सँग सम्बन्धित मानिन्छ, जसले यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई अझ बलियो बनाउँछ ।
गाउँपालिकाले नाढीमन ताललाई डिजिटल प्लेटफर्म, ई–बुक तथा आगामी प्रिन्ट संस्करणमा समेत समावेश गर्न आग्रह गर्दै यस पहलले क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बढाउने विश्वास व्यक्त गरेको छ । यस कदमले नेपाली फिल्म उद्योगलाई नयाँ लोकेसनको विकल्प दिनुका साथै ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।




