नेपाली मौलिक गीत–संगीतको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय सर्जक गणेश गुरुङले नयाँ कौडा/चुड्का गीत ‘पियारी’ सार्वजनिक गरेका छन् । गण्डक क्षेत्रको पहिचान बोकेको रैथाने भाकालाई संरक्षण गर्ने उद्देश्यले गीत बजारमा ल्याइएको हो । व्यावसायिकता भन्दा माथि उठेर मौलिक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित सार्वजनिक गरिएको ‘पियारी’मा गणेश गुरुङ, तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको छ ।
गीतको शब्द स्वयं गणेश गुरुङले लेखेका हुन् भने संगीत संकलन चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन)ले गरेका छन् । एरेञ्ज तेजेन्द्र दुराको रहेको छ । ‘पियारी’ विशेषगरी गोरखा र तनहुँ आसपासका क्षेत्रमा प्रचलित चुड्का भाकामा आधारित गीत हो । यो भाका गण्डक क्षेत्रका गुरुङ, मगर, दुरा र दराई समुदायमा अत्यन्त लोकप्रिय मानिन्छ। सांस्कृतिक परम्पराअनुसार, चुड्का गीतको गायन वैशाख पूर्णिमाबाट सुरु हुने चलन छ, जसले यस भाकाको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउँछ ।
“व्यावसायिक लाभभन्दा पनि हाम्रा पुर्खाले जोगाएर ल्याएको मौलिक धुन ओझेलमा नपरोस् भन्ने उद्देश्यले ‘पियारी’ ल्याएको हुँ,” गायक गुरुङले बताएका छन् । मनाङ गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र स्वयं गणेश गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका छन् ।
यसअघि ‘सल्ला धुपैले’, ‘गोरखा मनकामना’ र ‘गोगनपानीमा’ जस्ता लोकप्रिय गीतमार्फत दर्शक-स्रोतामाझ छुट्टै पहिचान बनाएका गुरुङको नयाँ प्रस्तुति ‘पियारी’ले पनि मौलिक संगीतप्रेमीहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ । गण्डक सभ्यताको सुगन्ध बोकेको यो गीतले नेपाली मौलिक संगीतको भण्डारमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।




