अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । काठमाडौं र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मलाई वितरक तथा प्रदर्शकसँगको सल्लाहअनुसार असोजमा रिलिज गर्ने निर्णय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन् । निर्देशक योञ्जनका अनुसार ‘कुस्ती’ प्रेम, भावना र द्वन्द्वको मिश्रण बोकेको कथानक हो । “एकअर्काबाट टाढा बस्न नसक्ने तर सँगै रहन पनि संघर्ष गरिरहेको जोडीको कथा फिल्ममा प्रस्तुत गरेका छौं,” उनले भने ।
फिल्ममा भावनात्मक पक्षसँगै हास्यरस पनि समावेश गरिएको छ । फिल्ममा अभिनेता धिरज मगर र मिरुना मगर मुख्य भूमिकामा छन् । साथै, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायत कलाकारहरूको अभिनय रहेको छ । यसै फिल्ममार्फत ‘मिस इन्डिया २०२६’ अन्तर्गत ‘मिस मल्टिमिडिया’ उपाधि जितेकी दिकिला शेर्पाले नेपाली फिल्ममा डेब्यु गरेकी छन् ।
उनी यसअघि भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चर्चामा आएकी थिइन् । निर्देशक योञ्जनका अनुसार फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनका लागि विभिन्न देशबाट प्रस्तावहरू आइरहेका छन् र केहीसँग अन्तिम चरणको छलफल भइरहेको छ । प्राविधिक पक्षतर्फ, फिल्ममा उमंग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको संगीत, रेनिश फागोको कलर करेक्सन तथा शैलेश श्रेष्ठ र रोहित शाक्यको पार्श्व संगीत रहेको छ ।
शिशिर खातीको कोरियोग्राफी रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मलाई मोफसलमा एफडी कम्पनीले रिलिज गर्नेछ ।




