समीर भट्ट अभिनित आगामी फिल्म ‘१२ गाउँ २’मा कृशु शाही ‘काफिया’ले शीर्ष अभिनेत्रीको भूमिका निर्वाह गर्ने भएकी छन् । निर्माता तथा निर्देशक विराज भट्टले सामाजिक सञ्जालमार्फत फिल्मकी लिड हिरोइनबारे औपचारिक जानकारी सार्वजनिक गरेका हुन् ।
कृशु चर्चित फिल्म वितरक गोविन्द शाहीकी छोरी हुन् ।
उनी ‘काफिया फिल्म्स’ ब्यानरमार्फत फिल्म क्षेत्रमा जोडिएकी छन् भने ‘१२ गाउँ २’बाट उनले औपचारिक रूपमा अभिनय यात्रा सुरु गर्न लागेकी हुन् । लिड हिरोइन घोषणा गर्दै निर्देशक भट्टले लेखेका छन्, “फिल्म क्षेत्रमा पहिलो पटक ‘१२ गाउँ २’ मार्फत पाइला टेक्दै कृशु शाही । उहाँलाई फिल्म क्षेत्रमा स्वागत छ ! जय नेपाल, जय नेपाली सिनेमा !”
फिल्ममा समीर भट्टसँग कृशुको अनस्क्रिन रोमान्स देख्न पाइनेछ । यसअघि नै फिल्ममा अनुबन्धित भए पनि अभिनेत्रीबारे जानकारी भने ढिलै सार्वजनिक गरिएको हो । निर्माता गोविन्द शाहीका अनुसार कृशुले यस फिल्मका लागि पछिल्ला चार वर्षदेखि अभिनय र नृत्य प्रशिक्षण लिँदै आएकी छन् । गोविन्द शाही र विराज भट्टबीच पुरानो सहकार्यसमेत रहँदै आएको छ ।
आगामी दशैंलाई लक्षित गर्दै रिलिज तयारीमा रहेको फिल्म ‘१२ गाउँ २’को छायांकन वैशाख २३ गतेदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ ।




