गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ अहिले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ । प्रदर्शनकै बीच निर्माण टिमले फिल्ममा समावेश नयाँ गीत ‘बिरही बतास’ सार्वजनिक गर्दै प्रमोसनलाई थप तीव्र बनाएको छ । आइतबार सार्वजनिक गरिएको गीतमा स्वरूपराज आचार्य को स्वर, सुरेन्द्र रानाको शब्द तथा सत्य–स्वरूपको संगीत रहेको छ ।
गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् भने रेकर्डिङ राजेश श्रेष्ठको छ । मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् । युट्युबमार्फत सार्वजनिक भएको ‘बिरही बतास’ले फिल्मको भावनात्मक पक्षलाई अझ गहिरो बनाउने विश्वास निर्माण टिमको छ । गीत सार्वजनिक भएसँगै फिल्मको प्रमोसनमा समेत सकारात्मक प्रभाव परेको जनाइएको छ ।
फिल्ममा प्रकाश सपूत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । साथै शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मञ्जिल बानियाँ लगायत कलाकारहरूको अभिनय रहेको छ । हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलद्वारा निर्माण गरिएको फिल्मले प्रदर्शनको नवौं दिनसम्म आइपुग्दा ३ करोडभन्दा बढी ग्रस कमाइ गरेको छ ।
निर्माता पोखरेलका अनुसार फिल्मले ९ दिनमा करिब ३ करोड १३ लाख रुपैयाँभन्दा बढी व्यापार गर्न सफल भएको हो । निर्माण टिमका अनुसार दर्शकको सकारात्मक प्रतिक्रिया र बढ्दो व्यापारले फिल्मको आगामी प्रदर्शन अझ सशक्त हुने संकेत दिएको छ ।




