डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक गरिएको छ । एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । सार्वजनिक टिजरले फिल्मको डार्क, इन्टेन्स र एक्सन–ड्रिभेन टोन स्पष्ट देखाउँछ । शक्तिशाली ब्याकग्राउन्ड म्युजिक, आकर्षक सिनेम्याटोग्राफी र पात्रहरूको प्रस्तुतीले फिल्म ठूलो क्यानभासमा निर्माण भएको संकेत दिएको छ ।
फिल्ममा अशोक आर्यन मुख्य भूमिकामा देखिएका छन् । उनका साथमा सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ । साथै, दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको उपस्थितिले फिल्मलाई फराकिलो दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ । फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन् ।
उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन् । ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘कुम्भ’ नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिनेछ। फिल्मको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ । यसअघि सार्वजनिक भएको ‘स्वर्गकी परी’ गीतले पनि राम्रो चर्चा बटुलेको थियो । गीतमा अञ्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ भने भिडियोमा अशोक आर्यन र सृष्टि खड्काबीचको केमेस्ट्री आकर्षक देखिएको छ ।
छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन् । द्वन्द्व निर्देशन संजय थापाको रहेको फिल्मका निर्माता रणधीर श्रेष्ठ र राजेश साह हुन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन् । टिजर RAA Digital Nepal मार्फत सार्वजनिक गरिएको हो । एक्सन र रोमान्सको संयोजन बोकेको ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको मिश्रणमार्फत दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ ।




