काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबीच फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । यस पहललाई काठमाडौंलाई चलचित्रमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यसँग जोडिएको छ । महानगरको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत युवालाई रोजगारमुखी सीप प्रदान गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि सारिएको हो ।
सम्झौताअनुसार ४० जना युवालाई एक महिनासम्म व्यावहारिक तालिम दिइनेछ । सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल ‘डि.सी.’ ले हस्ताक्षर गरेका हुन् ।चलचित्र विकास बोर्डका अनुसार तालिम ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ अन्तर्गत सञ्चालन हुनेछ ।
यस कार्यक्रमले चलचित्र, मिडिया तथा सिर्जनात्मक उद्योगमा आवश्यक आधारभूत तथा व्यावहारिक सीप विकास गर्ने अपेक्षा गरिएको छ । बोर्डले तालिममा सहभागी हुन इच्छुक युवाका लागि सूचना समेत जारी गरेको छ । इच्छुकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन् । पहिलो दर्ता हुने निवेदनलाई प्राथमिकता दिइने बताइएको छ ।
आयोजक संस्थाहरूका अनुसार यो तालिमले काठमाडौंमा चलचित्र तथा दृश्य–श्रव्य सामग्री निर्माणका लागि दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।




