नीता ढुङ्गाना फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘पार्वती’को छायांकन २२ दिनमै सम्पन्न भएको छ । निर्माण पक्षले तोकिएको समयभन्दा ८ दिन अगावै सुटिङ सकिएको जानकारी दिएको हो । गत चैत २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मिर्सा गाउँमा शुभमुहूर्त गर्दै सुरु गरिएको फिल्मको छायांकन छोटो समयमै सम्पन्न गरिएको हो । निर्माण टिमले एक महिनाको सेड्युल राखेर छायांकन सुरु गरेको भए पनि तीव्र गतिमा काम सम्पन्न भएको बताइएको छ ।
फिल्मको निर्देशन अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले नै गरेकी हुन् । मुख्य भूमिकामा पनि उनी स्वयं देखिनेछिन् । फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

‘पार्वती’को कथा तथा पटकथा निर्देशक ढुङ्गानाकै रहेको हो भने स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका हुन्। सुदीप बरालको डिओपी रहेको फिल्ममा सरोज अधिकारी क्रिएटिभ निर्देशकको रूपमा संलग्न छन् । फिल्मको सम्पादन साहिल खानले गर्दैछन् भने प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे रहेका छन् ।
निर्माता हरिहर अधिकारी हुन्। पोस्टर डिजाइन रोयल भिमसेनले गरेका छन् । निर्माण पक्षका अनुसार फिल्म आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।




