अस्त्र फिल्म्सको प्रस्तुति रहेको नेपाली फिल्म ‘जूबा’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । बुधबार सर्लाहीमा शुभमुहूर्त गर्दै फिल्मको पहिलो चरणको छायांकन थालिएको हो । निर्माण टिमका अनुसार फिल्मको कुल छायांकन ७५ दिनसम्म चल्नेछ । सर्लाही र काठमाडौंसँगै राजस्थान (भारत) मा समेत छायांकन हुने भएकाले ‘जूबा’लाई ठूलो क्यानभासको सिनेम्याटिक प्रोजेक्टका रूपमा तयार गरिँदैछ ।
फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल रहेका छन् । उनको साथमा नवअभिनेत्री सोफी धरेलले डेब्यु गर्दैछिन् । त्यस्तै, सुधन पोखरेल पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्, जसका लागि यो उनको पहिलो मुख्य भूमिका रहेको बताइएको छ । फिल्मको निर्देशन प्रकाश कर्णले गरेका हुन् भने कथा, स्क्रिनप्ले र संवाद लेखन वर्षा पौडेलको रहेको छ । क्रिएटिभ प्रोडक्सनको जिम्मेवारी पनि निर्देशक कर्ण र लेखिका पौडेलले नै सम्हालेका छन् ।

यसअघि सार्वजनिक गरिएको पोस्टरहरूले फिल्मले करिब दुई दशक पुरानो पृष्ठभूमिमा आधारित कथा भन्ने संकेत गरेका छन् । सौगात मल्लको फरक अवतार, सोफी धरेलको इमोशनल प्रस्तुति र सुधन पोखरेलको खतरनाक भिलेन लुक्सले दर्शकमाझ उत्सुकता बढाएको छ ।
निर्माण टिमले फिल्मको अन्य कलाकार र कथावस्तुबारे थप विवरण क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ ।




