गायिका तथा मोडल करुना राईको स्वर र अभिनयमा तयार भएको गीत ‘ज्यू ज्यू सोल्टी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा रोमान्टिक शैलीको यो गीत सार्वजनिक गरिएको हो । गीतमा राजकुमार बगर र करुना राईको स्वर रहेको छ भने शब्द हरि सापकोटाले लेखेका हुन् । संगीत शंकर बराइलीले दिएका छन्। पूर्वेली भाकामा आधारित यस गीतले प्रेमिल भावनालाई प्रस्तुत गरेको छ ।
भिडियोमा महानायक राजेश हमाल र करुना राईको रोमान्टिक मोडलिङ देख्न सकिन्छ । भिडियो निर्देशन तथा कोरियोग्राफी देवेन्द्र पाण्डेले गरेका हुन् । छायांकन रामकृष्ण चौलागाईं र सम्पादन विकास दाहालको रहेको छ । कार्यक्रमकै अवसरमा गायिका करुना राईको जन्मदिन पनि विशेष रूपमा मनाइएको थियो । कार्यक्रममा विशेष अतिथिका रूपमा अभिनेता धिरेन शाक्यको उपस्थिति थियो ।
राजेश हमालले म्युजिक भिडियो र फिल्म दुवै कलाको महत्वपूर्ण माध्यम भएको भन्दै कलाकारहरूले सबै विधामा काम गर्न सक्नुपर्ने धारणा राखे । करुना राईले राजेश हमालसँग पाँचौँ पटक सहकार्य गर्न पाउनु आफ्नो लागि विशेष उपलब्धि भएको बताइन् । धिरेन शाक्यले पनि भिडियोको जोडी र प्रस्तुति प्रशंसनीय रहेको प्रतिक्रिया दिएका छन् ।




