ब्लकबस्टर फिल्म पूर्ण बहादुरको सारङ्गीको टिमले निर्माण गरेको नयाँ फिल्म ‘रोल नम्बर १’को टिजर सार्वजनिक गरिएको छ । निर्माता विनोद पौडेलको निर्माणमा बनेको फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरले आम मानिसका सपना, संघर्ष र भरोसाको कथा प्रस्तुत गरेको छ । विशेषगरी बाबुले आफ्ना सपना त्यागेर छोराको भविष्यका लागि गरेको संघर्ष र त्यसपछि आउने निराशालाई मार्मिक रूपमा देखाइएको छ ।
टिजरमा छात्रवृत्तिमा निर्भर विद्यार्थीहरूको बाध्यता, प्रतिस्पर्धात्मक प्रणालीका कारण अवसर गुम्दा आउने पीडा र समाजमा ‘पहिलो हुनैपर्ने’ दबाबलाई पनि संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । यसले गरिब तथा सामान्य पृष्ठभूमिका विद्यार्थीहरू कसरी पछाडि पर्छन् भन्ने यथार्थ उजागर गरेको छ । फिल्मले परिवारले आफ्ना अधुरा सपना छोराछोरीमा थोपर्ने प्रवृत्ति र त्यसले बालमनोविज्ञानमा पार्ने असरलाई मुख्य विषयवस्तु बनाएको देखिन्छ ।
फिल्म आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ । जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बालकलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिनेछन् ।
फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । महेश दवाडीको लेखन रहेको फिल्म म्याग्दीका विभिन्न ग्रामीण भेगमा छायांकन गरिएको हो। छायांकन शिव राम श्रेष्ठले गरेका छन् । संगीत प्रशान्त शिवाकोटी, ब्याकग्राउन्ड स्कोर रोहित शाक्य, सम्पादन मदन घिमिरे र प्रोडक्सन डिजाइन कला संग्रौलाको रहेको फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्नेछन् ।
निर्माण टिमका अनुसार ‘रोल नम्बर १’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने तयारी गरिएको छ ।




