लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण टिमले गीत रिलिज गर्दै फिल्मको कथाको भाव प्रस्तुत गरेको हो । कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको स्वर सुन्न सकिन्छ । ‘नेपाल आइडल’का विजेता रहेका यी दुईमध्ये गंगाले यसै गीतमार्फत नेपाली फिल्ममा पार्श्व गायन डेब्यु गरेकी हुन् ।
पतिपत्नीबीचको प्रेमकथामा आधारित गीतको भिडियोमा विपिन कार्की र केकी अधिकारी नवविवाहित जोडीको भूमिकामा देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा उनीहरूको दैनिकी—बिहानको पूजा, घरपरिवारको वातावरण र खेतबारीको कामलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् ।
फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदी, नवराज गिरी तथा बाल कलाकार दिक्षिता अर्याल, आरव बराल र सुपला सापकोटा लगायतको अभिनय रहेको छ । निर्माण टिमका अनुसार फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गरेको छ ।
प्रदीप भारद्धाजको कथा रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ। सम्पादन सुपरभाइजर बनिश शाह तथा सम्पादक विपिन मल्ल रहेका छन् । फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी रहेका छन् ।




