आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । करिब २ मिनेट लामो ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वलाई उजागर गर्छ । निर्देशक सहारा शर्माले विवाह र सम्बन्धलाई लिएर परिवारभित्र बुनिएको जटिलता, बुझाइ र सामाजिक दृष्टिकोणलाई सहज रूपमा प्रस्तुत गरेकी छन् ।
ट्रेलरमा मुख्य पात्र आँचल शर्मा विवाहप्रति असन्तुष्ट देखिन्छिन् भने उनको परिवार सामाजिक प्रतिष्ठाका कारण विवाहलाई अघि बढाउन चाहन्छ । यही द्वन्द्व र अपेक्षाबीचको टकरावले कथालाई भावनात्मक बनाएको छ । सिनेमामा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा करिब तीन दशकपछि यही सिनेमामार्फत अभिनयमा फर्किएकी हुन् । गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ रहेका छन् । निर्माण टिममा जर्मनकी सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि संलग्न छन् ।
सिनेमाको कलर ग्रेडिङ थाइल्यान्डको ह्वाइट लाइटले गरेको हो भने छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन् । सम्पादन भारतकी दीपा भाटियाले गरेकी छन् ।




